World

Friday, 15 July 2016

फ्रान्स घटनाका एक प्रत्यक्षदर्शीको बयान- म दौडिन सकिनँ तैपनि भिडियो खिँचिरहेँ -

फ्रान्स घटनाका एक प्रत्यक्षदर्शीको बयान- म दौडिन सकिनँ तैपनि भिडियो खिँचिरहेँ
 

श्रावण १, २०७३- एक प्रत्यक्षदर्शी नादेर अल साफेईले बीबीसीलाई बताएको विवरण-
आतिसबाजी प्रदर्शनको अन्त्यलगत्तै समुद्रीतटमा रहेका मानिसमध्ये म पनि एक थिएँ । हामी फ्रान्सको राष्ट्रिय दिवसको आनन्द लिइरहेका थियौं । पाँच मिनेटपछि सबै मानिस सडकको मध्यभागतर्फ गइरहेका थिए । त्यत्तिकैमा हामीले मानिसहरू जोडजोडले चिच्याएको आवाज सुन्यौं । मैले एउटा ट्रक मतिर आइरहेको देखें । मुख्य सडकमा म ट्रकको ठीक सामुन्ने थिएँ र केही मानिसहरू पहिले नै ट्रकमुनि किचिएर क्षतविक्षत भइसकेको देखें । मबाट करिब १ मिटरपर एकाएक ट्रक रोकियो । मैले अगाडिको सिसाबाट उसलाई देख्न सक्थें ।

सुरुमा त मैले त्यसलाई एउटा दुर्घटना ठानें, ट्रकका चालकले नियन्त्रण गुमाएर र मानिसलाई दुर्घटनावश कुल्चिएका होलान् भन्ने सोचेको थिएँ । त्यसैले ट्रक रोक्न मैले कराउँदै चिच्याउँदै उसलाई बोलाइरहें, किनकि ट्रकमुनि मानिसहरू थिए । तर उसले कसैलाई हेरिरहेको थिएन, केही खोजिरहेको जस्तो गरी हतारो र बेचैनीका साथ उसले ट्रक हुइँक्याइरहेको देखिन्थ्यो ।

उसका हातहरू स्टेरिङमा थिए । मैले सोचें उसले नियन्त्रण गुमायो अनि ट्रक रोक्न खोजिरहेको छ । तर उसले केही उठायो, मैले त्यो मोबाइल फोन जस्तो देखें, त्यसैले मलाई फेरि उसले एम्बुलेन्स बोलाउने प्रयास गरेको हो कि जस्तो लाग्यो ।

म उसतर्फ फर्किएको थिएँ । अकस्मात मेरो पछाडिबाट प्रहरी आइरहेका थिए । र, मैले देखें उसले निकालेको बन्दुक रहेछ । उसले सिसाको झ्यालबाटै गोली चलाउन सुरु गर्‍यो । त्यसैबेला प्रहरीले मलाई ‘भाग’ भन्दै पछाडि धकेले । उनीहरूले भाग भाग भनिरहेका थिए । त्यसैले म ४ मिटरजति पछि हटें । मैले मोबाइलफोन निकालें र त्यहाँ भइरहेको घटनाको भिडियो खिच्न सुरु गरें ।
म दौडिन सकिनँ, त्यतिकै त्यहीं अड्किएको जस्तो अनुभव भयो । त्यसैले मैले त्यहाँको सबै भिडियो खिचिरहें, प्रहरीले उसलाई नमार्दासम्म ।

एकजना प्रहरीले मैले भिडियो खिचिरहेको देखे, उनी भाग भाग भन्दै चिच्याउँदै मतर्फ आए । गोली प्रहार भइरहेका कारण उनीहरूले मलाई ‘तल बस, तल बस’ भनिरहेका थिए । त्यसैले म भुइँमा लम्पसार परें ।

म भुइँमा सुतेकै भए पनि भिडियो भने खिचिरहेको थिएँ । त्यसपछि ती प्रहरी फेरि मतर्फ आए र समुद्र तटमा रहेका सबैलाई भाग्न भने । मलाई लाग्यो उनीहरूले ट्रकमा बम हुन सक्ने अनुमान गरेको हुनुपर्छ । त्यसपछि मैले अवस्था निकै गम्भीर भएको ठानें र त्यहाँ तटमा रहेका अरू मानिससँगै भागें ।


प्रकाशित: श्रावण १, २०७३


No comments:

Post a Comment