World

Wednesday, 25 May 2016

इजरायली राष्ट्रपतिसँग उपप्रधानमन्त्री थापाको भेटवार्ता रंगशालामा


  • प्रधानमन्त्री नेतान्याहुसँग आज औपचारिक भेट

जेष्ठ १२, २०७३- इजरायल भ्रमणमा रहेका उपप्रधान तथा परराष्ट्रमन्त्री कमल थापाले त्यहाँका राष्ट्रपति रेउभेन रिवलिनसँग भेटवार्ता गरेका छन्, रंगशालामा । राजधानी जेरुसेलमको रंगशालामा फुटबल खेल हेर्दै उनले राष्ट्रपति रिवलिनसँग कुराकानी गरेका हुन् । 
इजरायल कप फुबलको फाइनलमा राष्ट्रपतिसँग थापाको कुराकानीको तारतम्य भने राजदूत प्रल्हाद प्रसाईले मिलाएका हुन् । नेपाल इजरायललाई छुट्टै राष्ट्रको रुपमा समर्थन गर्ने पहिलो दक्षिण एसियाली मुलुक हो ।

समय थोरै रहेकाले अन्य स्थानमा भेट हुन नसक्ने भएपछि स्टेडियममा नै भेटवार्ता गराउन प्रसाईंले पहल गरेका थिए । नेपालका लागि इजरायलका राजदूतले पनि उक्त भेट मिलाउन इजरायल पुगेर प्रसाईसँगै मिलेर काम गरेका थिए । प्रसाईको कार्यकाल सकिइसकेको भए पनि उपप्रधानमन्त्रीको भ्रमण हुनेभएपछि मन्त्रिपरिषदबाट उनको केही दिन समय थप गरिएको थियो ।  


राष्ट्रसंघीय मानवीय सम्मेलनमा समहभागि हुन टर्कि पुगेका थापा तीन दिने औपचारिक भ्रमणको लागि इजरायल पुगेका थिए । टर्कीमा तीन दिन बसेर उनी सम्मेलन सकिएकै दिन अपरान्ह इजरायल प्रस्थान गरेका हुन् । इजरायल पुगेका उनी विमानस्थलबाट सिधै फुटबल हुन लागेको रंगशाला पुगेका थिए ।

रंगशालामा राष्ट्रपतिलगायत उच्च अधिकारीहरुको बाक्लो उपस्थिति थियो । थापासँगै भ्रमणमा रहेकी उनकी पत्नी पनि रंगशाला पुगेकी थिइन् । उनका साथ राजदूत प्रसाई, परराष्ट्र सचिव शंकरदास बैरागी र मन्त्रीका सहयोगी पनि रंगशाला पुगेका थिए ।

थापाले आजै इजरायली प्रधानमन्त्री बेन्यामिन नेतन्याहुसँग पनि भेट गर्ने कार्यक्रम छ । नेपाल र इजरायलबीच आजै स्थायी कुटनीतिक संयन्त्र बनाउने सहमतिमा हस्ताक्षर हुँदैछ ।

करिब ६ हजार नेपाली रहेको इजरायलमा लामो समयदेखि कामदार जानेक्रम रोकिएको थियो । नेपाली कामदारका लागि ‘केअर गिभर’मा राम्रो अवसर त्यहा रहेको भए पनि सरकारको लापरबाहीको कारण रोकिएको थियो ।

मन्त्री थापाले बिहीबार इजरायली परिषदमा नेपाल इजरायल सम्बन्धबारे  सम्वोधन गर्ने कार्यक्रम छ ।
प्रकाशित: जेष्ठ १२, २०७३


No comments:

Post a Comment